स्ववियुमा उमेर हद सच्याऊ : नेविसंघ

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारका लागि तोकेको उमेर हद सच्याउन माग गरेको छ । नेविसंघ केन्द्रीय समितिले बुधबार राजधानीको धोबिधारास्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्दै त्रिविले विनाआधार २८ वर्ष उमेरको हदबन्दी लगाउने निर्णय गरेको आरोप लगाएको छ ।

नेविसंघले पटक पटक घोषित स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा एकपटकका लागि उम्मेदवारको उमेर हदबन्दी नलगाई निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविसग आग्रह गरेको हो । ‘नेविसंघको स्ववियुसित रगतको साइनो छ । नेविसंघ जुनसुकै हालतमा स्ववियु चुनावमा सहभागी हुन्छ,’ पुस २६ देखि माघ ३ सम्म राजधानीमा बसेको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष नैनसिंह महरले भने, ‘तर, त्रिविले २८ वर्ष उमेर हदलाई सच्याउनुपर्छ ।’ उनले नेविसंको नेतृत्वमा २०३६ भएको विद्यार्थी आन्दोलनको जगमा स्ववियु जन्मिएको बताए ।

त्रिविको गत पुस २० मा बसेको सिनेट बैठकले आगामी फागुन १४ गते स्ववियु चुनावको मिति घोषणा गरेको छ । उसले चुनावको तालिका र आचारसंहिता भने सार्वजनिक गरेको छैन ।
संघले अध्यक्ष महरको संयोजकत्वमा ७ हजार एक सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ गठन गरेको छ । संघले मिश्रित निर्वाचन प्रणालीको स्वागत गरेको छ । तर, समानुपातिकतर्फको पदाधिकारी समानुपातिक सूचीबाट मात्र चयन गर्ने प्रावधान अवैज्ञानिक भएको भन्दै निर्वाचित र समानुपातिक दुवै सूचीबाट हुनुपर्ने माग राखेको छ । संघले स्ववियु निर्वाचन कार्यतालिका र आचारसंहितालाई परिस्कृत र व्यवहारिक बनाउन माग गरेको छ । ‘समानुपातिक प्रणालीलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन थ्रेसहोल्ड सम्बन्धी प्रावधानलाई समेत वैज्ञानिक रूपमा लागू गर्न माग गर्छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंहलगायतको बैठकले स्ववियु चुनावलाई स्वागत गर्दै तत्काल सहभागी हुन निर्देशन जारी गरेपछि संघले धारणा सार्वजनिक गरेको हो । नेविसंघका एक नेताका अनुसार पार्टी नेतृत्वले नेविसंघलाई चलायमान हुन निर्देशन दिएको छ ।
त्रिविले २०६५ यता स्ववियु चुनाव गराउन सकेको छैन । दश वर्षसम्म स्ववियु अवरुद्ध हुँदा धेरै विद्यार्थी नेताहरुले आफ्नो क्षमता विकास गर्न नसकेको पार्टी पंक्तिको ठम्याइ छ । ‘दश वर्षदेखि क्याम्पसमै रहेर राजनीतिमा संलग्न विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो चासोको विषय हो,’ ती नेताले भने ।

सत्तारुढ माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले स्ववियु चुनावको स्वागत गरिसकेको छ भने एमालेनिकट अनेरास्ववियुले यसअघि देखि नै स्ववियु चुनाव जसरी हुनुपर्ने भन्दै आएको छ । सरकारले फागुनमा स्थानीय निकायको चुनाव गराउन सम्भव नभएको भन्दै विद्यार्थी संघ/संगठनहरुलाई स्ववियु चुनावमा होमिन निर्देश गरेको छ । मधेसवादी, जनजातिलगायत अन्य दलनिकट विद्यार्थी संघ/संगठनले मिश्रित प्रणालीमा हुने स्ववियु चुनावलाई सकारात्मक रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *