•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न माग गर्दै नेविसंघले बुझायो त्रिविलाई पत्र

2079-03-02

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई समयमै परीक्षा सञ्चालन गर्न र परीक्षाफल प्रकाशन गर्न माग गर्दै पत्र बुझाएको छ। 

त्रिभुवन विश्वविद्यालयका डीन कार्यालयहरु परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन तथा परीक्षा सम्बन्धी विश्वसनीयता कायम गर्नमा कमजोर बन्दै गएको भन्दै नेविसंघले त्रिविको ध्यानाकर्षण गराएको हो।

अध्यक्ष दुजाङ शेर्पाले मानविकी तथा समाज शास्त्र संकायको डीन कार्यालय र शिक्षाशास्त्र डीनको कार्यालयलाई परीक्षा र परीक्षाफल प्रकाशन सम्बन्धी अनुरोध पत्र पठाएका हुन्।

प्रावधान अनुसार सेमेस्टर प्रणालीका परीक्षाको परीक्षाफल तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने भए तापनि २०७८ साल पुसमा सम्पन्न भएको एमए चौथो सेमेस्टरको परीक्षाफल छ महिना बितिसक्दा पनि अप्रकाशित छ भने दोस्रो सेमेस्टरको असोजमा सम्पन्न परीक्षाफल पनि करिब दश महिना बितिसक्दा र एमएड दोस्रो सेमेस्टरको परीक्षाफल छ महिना बितिसक्दा पनि प्रकाशित भएको छैन। 

संघका अध्यक्ष शेर्पाद्वारा प्रेसित पत्र हस्तान्तरण गर्न त्रिभुवन विश्वविद्यालयका नेताकार्यकर्ताहरु डीन कार्यालय पुगेका थिए। 

संघले पत्रमा लेखेको छ, ‘देशको उच्च शिक्षाको मेरुदण्डको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन,  विश्वसनीयता तथा वैधता कायम गर्ने लगायतका परीक्षा सम्बन्धी सम्पूर्ण कार्यहरूमा अस्तव्यस्त देखिनु दुर्भाग्यपूर्ण कुरा हो। अझै पनि विश्वविद्यालयको क्यालेन्डर अनुसार परीक्षा सम्बन्धी कार्यसम्पादन समयमै नगर्नुले प्रत्यक्ष रुपमा आम विद्यार्थी तथा देशलाई ठूलो क्षति भैरहेको छ।’

नेविसंघले विश्वविद्यालयको डीन कार्यालय परीक्षा प्रणालीमा मात्रै रुमल्लिरहेको तथा परीक्षाकेन्द्रहरु बढाउँदै विद्यार्थीले घर पायक पर्ने क्याम्पसमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने कार्यबाट सम्बन्धित शाखा विमुख भएको बताएको छ।

पत्र हस्तान्तरण पश्चात डीनहरुले अब विशेष सजकता अपनाएर विश्वविद्यालयको मर्म अनुरुप अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।




Latest News

Happy Women's day

2022-03-08

Campaigns