•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np
About Us

नेपालमा निरंकुश जहानिया राणा शासनको अन्याय, अत्याचारको विरुद्ध संगठित रुपमा विद्यार्थी आन्दोलन वि.स. १९९१ मा भारतको बनारसमा अध्ययनरत विद्यार्थीहरुले नेपाली छात्र संघको स्थापना गरी प्रारम्भ गरे । यसै क्रममा १९९७ साल माघ १६ गने त्रि – चन्द्र क्याम्पसका विद्याथी नेता गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा झुण्डाएर राणशासकले फासी दिए । यसरी विद्यार्थी आन्दोलनको क्रममा वि.स २००३ सालमा प्रजातन्त्र स्थापनाको प्रमुख लक्ष्य लिएर नेपाली कांग्रेसको स्थापना भयो । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा राणाशासन समाप्त पार्ने आन्दोलनदेखि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठदासम्म विद्यार्थीहरु संघर्षरत रहे । यसैक्रममा नेपाली कांग्रेसको सिद्धान्त र नीतिलाई अवलम्बन गर्ने विद्यार्थी समुदायको आवश्यकता महसुस गरी राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्श बोकेर अनवरत संघर्ष गर्ने तरुण विद्यार्थीहरु एकै ठाउँमा भेला भएर २०२७ साल बैशाख ६ गते स्थापना भएको विद्यार्थी संगठनको नाम हो नेपाल विद्यार्थी संघ । 
नेपाल विद्यार्थी संघ वर्गीय हक, हित एवं जनताको मौलिक अधिकार , लोकतन्त्र, मानव अधिकार , प्रेस स्वतन्त्रताको संरक्षणका लागि अनवरत संघर्ष गर्ने नेपालको सबै भन्दा शक्तिशाली विद्यार्थी संगठन हो । लोकतान्त्रिक मूल्यमान्यतालाई मुलमन्त्रका रुपमा अंगिकार गर्ने लोकतन्त्रवादी विद्यार्थीहरुको साझा र सम्मानित घर हो नेपाल विद्यार्थी  संघ । साथसाथै नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई विद्यार्थीमाझ पुर्‍याउने एउटा बाहक पनि हो । वास्तवमा नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने एउटा नर्सरी पनि हो । 

नेपाल विद्यार्थी संघ 
नेपालको एकिकरण पश्चात केन्द्रीय राजनीतिले आम जनतालाई अधिकार सम्पन्न गर्ने दिशा तर्फ ध्यान दिएन । अठारौ शताब्दिको अन्त्य तिर अन्तराष्ट्रिय राजनितिक ज्यादै तरल र चरम सामरिक खिचातानीबाट गुज्रिरहेको थियो । भारतीय महादिपमा एकछत्र राजगर्न सफल बेलायती साम्राज्यवादको आड भरोसामा नेपालमा राणहरुले एक शताब्दि भन्दा लामो समय निरकुश जहानिया शासन सत्ता संचालन गरे । नेपाली जनताले पटक पटक जन अधिकारका निम्ति राजनैतिक प्रयासहरु गरिरहे । घरेलु राजनैतिक अनुभव, भारतीय स्वतन्त्रता र विश्व राजनीतिमा आएको प्रजातान्त्रिक लहरलाई समेत ध्यानमा राखी नेपाली कांग्रेसले, जनअधिकार स्थापित गरी समृद्ध नेपालको परिकल्पना सहित मौलिक विचार पद्दति र संगठन निर्माण गरी अगाडि बढ्यो । नेपाली कांग्रेसद्धारा २००७ सालको सशस्त्र जनक्रान्तिले नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको बहाली गर्‍यो । तत्कालीन राष्ट्रिय राजनीति प्रजातन्त्रका निम्ति अनुकुल रहेन । राजतन्त्रले प्रजातन्त्रको आधारभुत जग नै तयार हुन दिएन । २०१७ साल पौष १ को शाही काण्ड पछि नेपाली कांग्रेसको नेतृत्व जेल, प्रवास र भूमिगत अवस्थामा छिन्न भिन्न हुन पुग्यो । यसले प्रजातान्त्रिक आन्दोलनको गति करिब करिब रोकिए कै जस्तो भयो । पार्टी प्रतिबन्धित अवस्थामा प्रजातान्त्रिक आन्दोलनको ध्वज अघि बढाउन प्रजातान्त्रिक संस्थाको खाँचो खड्कियो । फलत : २०२७ साल बैशाख ६ गते प्रजातन्त्र प्रति आस्थावान युवा विद्यार्थीहरुको साझा थलोको रुपमा नेपाल विद्यार्थी संघ को स्थापना गरियो । तत्कालीन अवस्थामा मुलभूत दुई उद्देश्य राखेर नेपाल विद्यार्थी संघको स्थापना भएको हो । 
१. अधिकारबाट बञ्चित नेपाली जनतालाई अधिकार सम्पन्न गराउन प्रजातन्त्रको स्थापनाका लागि प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने । 
२. समृद्ध नेपालको निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति निर्माणको नेतृत्व गर्ने   ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी प्रति प्रतिवद्ध नेपाल विद्यार्थी संघले नेपालको कठिन राजनैतिक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरिआएको छ । नेपालको राजनीतिमा आएको आमुल परिवर्तन र बदलिएको परिस्थितिमा समय सापेक्ष नेपाल विद्यार्थी संघको दायित्वमा पनि परिवर्तनको आवश्यकता छ । समृद्ध नेपालको आधारशिला खडा गर्नका निमित्त आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षा पद्दतिका निम्ति नेपाल विद्यार्थाी संघको ध्यान केन्द्रीत गर्न आवश्यक छ ।