•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

रसुवाबाट सुरु भयो नेविसंघको १२ औं महाधिवेशन

2023-02-12

काठमाडौँ — नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन रसुवाबाट सुरु भएको छ । महाधिवेशनअन्तर्गत रसुवामा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा कपिल पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

नेविसंघ केन्द्रले ३५ जिल्लालाई डेढ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिले रसुवाले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघले समयमा अधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने कार्यादेशसहित नेविसंघ केन्द्रीय समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए । अध्यक्ष मनोनित भएपनि अन्य पदाधिकारी र सदस्यहरु भने मनोनित भएका छैनन् ।

अध्यक्ष शेर्पाले केन्द्रीय समितिले पूर्णता नपाएकै अवस्थामा पनि आफुले जिल्ला अधिवेशनहरुका लागि आव्हान गरेको र रसुवाले सबैभन्दा पहिले अधिवेशन सम्पन्न गरेको बताए । शनिबार भएको अधिवेशनले उपाध्यक्षमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घलेलाई चयन गरेको छ ।

त्यस्तै, सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषाध्यक्षमा सोजित तामाङ र सहकोषाध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मोहन आचार्य, नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पा र केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाले सम्बोधन गरेका थिए ।

अध्यक्ष शेर्पाले ७७ वटै जिल्ला अधिवेशन पूरा भएपछि केन्द्रीय महाधिवेशन आयोजना हुने बताए । नेविसंघमा यसअघि नैनसिंह महर नेतृत्वको समितिले अधिवेशन गराउन नसकेपछि उनी नेतृत्वको समिति विघटन गरेर राजीव ढुंगानाको नेतृत्वमा महाधिवशेन आयोजक समिति गठन गरिएको थियो । तर ढुंगानाले पनि अधिवेशन गराउन नसकेपछि देउवाले शेर्पालाई नियुक्त गरेका हुन् ।

प्रकाशित : माघ २९, २०७९ १४:१२



Latest News

Happy Women's day

2022-03-08

Campaigns