•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

त्रिविको तालाबन्दीबारे संसद्‌मा बहस

2022-08-30

आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिविमा पठनपाठनको वातावरण तहसनहस पारेको भन्दै एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारका नाममा निर्देशन जारी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखले त्रिविमा भइरहेका तालाबन्दी र विरोधका कार्यक्रमले पठनपाठन अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै रुलिङ गरेका थिए । ‘त्रिविमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,’ सभामुख सापकोटाले भनेका थिए ।

संसद् बैठक सुरु हुनेबित्तिकै एमालेले समय मागेर त्रिविको विषय उठान गरेको थियो । एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले सरकार संरक्षित अराजकता त्रिविमा भइरहेको भन्दै सभामुखबाट रुलिङ माग गरेका थिए । ‘गएको तीन वर्षमा तीन सय दिनभन्दा बढी विश्वविद्यालय बन्द गरिएको छ, ताला लगाइएको छ । सत्तानिकटका विद्यार्थी संगठनको नेतृत्वमा ताला लगाइएको छ,’ उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको प्रसङ्ग उल्लेख गर्दै ज्ञवालीले भने, ‘पढाउन कक्षा कोठातिर हिँडिरहेका प्राध्यापकहरूमाथि सांघातिक आक्रमण भएपछि र त्यसरी आक्रमण गर्नेहरूलाई मुद्दा नचलाइएपछि या चलाइएको मुद्दा पनि फिर्ता लिने अवस्था भइसकेपछि विश्वविद्यालय कसरी चल्छ ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ?’ प्रहरीको संरक्षणमा नेविसंघमा आबद्ध विद्यार्थीका साथै उपप्राध्यापकमाथि आक्रमण गर्नेहरूले विश्वविद्यालय, पदाधिकारी कार्यकक्षमा तालाबन्दी र तोडफोड गरेको उनको भनाइ थियो । ‘माइन्युटसमेत लुटेर लाने जुन स्थिति बनेको छ, यसमा न कुलपति बोल्नुभएको छ, न सहकुलपति बोल्नुभएको छ, न गृहमन्त्रीले नै जवाफ दिनुभएको छ । प्रमुख प्रतिपक्ष यो स्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैन । के कुनै संस्थाहरूको स्वतन्त्रता यसरी नै समाप्त पारिने हो ?’ उनले प्रश्न गरे ।

तालाबन्दी र धम्कीका कारण होटलमा कार्यकारी परिषद्को बैठक बस्दा नेविसंघको एक समूहले बैठकको निर्णय पुस्तिकालगायत कागजात नियन्त्रणमा लिएको त्रिविले जनाएको छ । २०७७ असोज २० गते नेविसंघमा आबद्ध कांग्रेस कार्यकर्ताले उपप्राध्यापक प्रेम चलाउनेमाथि विश्वविद्यालयमा आक्रमण गरेका थिए । आक्रमणकारीमाथि लगाइएको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता गर्नका लागि सिफारिस गरेको एमालेले जनाएको छ । नेविसंघ त्रिवि इकाइ सभापति हरि आचार्य र सचिव योगेन्द्र रावलले उपप्राध्यापक चलाउनेमाथि गरेको आक्रमणको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । नेविसंघबाटै राजनीति गरेका शेरबहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री भएका बेला त्रिविमा उनीहरूका कार्यकर्ताले नै चरम गुन्डागर्दी गरेको ज्ञवालीको भनाइ थियो ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनले सोधेका थिए, ‘विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ नै सार्न खोज्नुभएको हो भने भन्नुपर्‍यो ।’ विश्वविद्यालयमा सुरक्षा दिन गृहमन्त्री चुकेको पनि उनको भनाइ थियो । त्रिविको विषयमा प्रधानमन्त्री, शिक्षामन्त्री वा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने तीन वर्षयताका प्रधानमन्त्री र शिक्षामन्त्रीलाई त्रिविको अवस्थालाई लिएर स्पष्टीकरण सोध्न माग गरेका थिए । उनले भने, ‘युद्धका बेला पनि विद्यालय र विश्वविद्यालय सञ्चालन भएका देश धेरै छन् । त्रिविमा तीन वर्षमा तीन सय दिन तालाबन्दी भयो । यो अवधिमा प्रधानमन्त्री र शिक्षामन्त्री बनेकाहरूसँग स्पष्टीकरण लिनु जरुरी छ ।’




Latest News

Happy Women's day

2022-03-08

Campaigns